२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विश्वकप फुटबललाई ध्यानमा राख्दै स्थानीय प्रशासनको १० बुँदे निर्देशन


0
Shares

काठमाडौं, जेठ २९ । विश्वकप फुटबल प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० बुँदे निर्देशन जारी गरेको छ ।

विश्वकप म्याचका क्रममा विभिन्न टिमको पक्ष तथा विपक्षमा सट्टेबाजी हुने, सामूहिक रुपमा म्याच हेर्ने क्रममा हो–हल्ला गरी छिमेकीलाई बाधा पुर्‍याउनेलगायत विभिन्न उच्छृङ्खल गतिविधि हुन सक्ने भन्दै स्थानीय प्रशासनले त्यसलाई नियन्त्रण गर्न १० बुँदे निर्देशन जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाइने छ ।

त्यस्तै, प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन पाइने छैन ।

खेलको हारजित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारका निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न/गराउन, खेल खेलाउन पाइने छैन ।

सार्वजनिक स्थलमा गरिने प्रदर्शनका हकमा मादक पदार्थ खरिद, बिक्री, ओसार–पसार तथा सेवन गर्न पाइने छैन ।

निजी व्यवसाय/प्रतिष्ठानका हकमा खेलाको विषयलाई समेत लिएर हुन सक्ने असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा सीसीटिभी निगरानीको व्यवस्था हुनुपर्ने छ ।

सार्वजनिक स्थलमा हुने प्रदर्शनले अव्यवस्थित रुपमा पार्किङ गरी हुन सक्ने ट्राफिक एवं सार्वजनिक आवागमनलाई अवरोध गर्न पाइने छैन । त्यस्तै, हो–हल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न पाइने छैन ।

प्रदर्शनस्थलमा भएका कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवार आयोजक आफैं हुनुपर्ने छ भने प्रदर्शन स्थलमा कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा त्यसको नतिजाप्रति आयोजक आफैं पूर्ण रुपमा जिम्मेवार हुनुपर्नेछ ।

स्थानीय प्रशासनले आयोजकलाई शान्ति सुरक्षा सम्बन्धी विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेरमात्र प्रदर्शनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।