
काठमाडौं । अष्ट्रेलियासँगको टेष्ट क्रिकेट श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ ।
दोश्रो टेष्टमा ३ सय ७३ रनको जित हात पार्दै पाकिस्तानले २ टेष्टको श्रृंखला जितेको हो ।
पहिलो टेष्ट बराबरीमा सकिएको थियो । ५ सय ३८ रनको लक्ष्य पाएको अष्ट्रेलिया दोश्रो पारीमा मात्र १ सय ६४ रनमा अल आउट भयो ।
अष्ट्रेलियालाई सस्तैमा रोक्न पाकिस्तानका यासिर साहले पाँच तथा मोहम्मद अब्बास र बिलाल आसिफले दुई दुई विकेट लिए ।
अष्ट्रेलियाका मार्नुसले सबैभन्दा धेरै ४३ रन बनाए भने ट्राभिस हेडले ३६ र आरोन फिन्चले ३१ रन बनाए ।
पहिलो पारीमा १ सय ३७ रनको अग्रता लिएको पाकिस्तानले दोश्रो पारीमा ९ विकेट गुमाएर ४ सय रन बनाउँदै पारी समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ५ सय ३८ रनको लक्ष्य पाएको थियो ।
दोश्रो पारीमा पाकिस्तानका बाबर आजमले ९९, सर्फराज अहमदले ८१, फखर जमानले ६६ र अजहर अलीले ६४ रन बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्