Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


पुलिस १–० जावलाखेल


0
Shares

काठमाडौं, असोज २५ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् बिहीबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा पुलिसका लागि ३२औं मिनेटमा अजित भण्डारीले गरेको गोल नै जितमा निर्णायक बन्यो ।

त्यसअघि, जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसका दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले ६ यार्डभित्रबाट गरेको प्रहार उनले रोकेका थिए ।

त्यसअघि, हेम तामाङको लामो दूरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके ।

खेलमा पुलिसका तेज तामाङ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै पुलिसले तीन अंक जोडेको छ ।

शुक्रबार बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपीएफ तथा दिउँसो ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ–मर्स्याङ्दी प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो राउन्डको खेल सकिएलगत्तै २७ गतेदेखि एक महिनाका लागि लिग स्थगित हुने एन्फाले जनाएको छ ।

‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो । पछिल्लोपटक वि.सं. २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

लिगमा ‘ए’ डिभिजनका १४ क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । रासस

Skip This