१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा


3.211k
Shares

काठमाडौं । काठमाडौंको सडकमा चर्किरहेको शिक्षकहरूको आन्दोलनकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।

देशभरका शिक्षकहरूले संघीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिनुभएको हो ।

शिक्षामन्त्री भट्टराईले सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभयो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो । तर शिक्षकका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री ओली र सरकारले नै चासो नदिएपछि उहाँ दबाबमा पर्नुभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न शिक्षामन्त्री भट्टराईले सक्रियता बढाउनुभएको थियो । उहाँले सोमबार बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रश्ताव लैजाने तयारी गर्नुभएको थियो । गत चैत्र २० गतेदेखि आन्दोलन शुरु गरेका शिक्षकहरूले चैत्र २५ गते देखि शैक्षिक सत्र ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका थिए ।

सरकारले वैशाख १२ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छोड्न आग्रह गरिरहे पनि शिक्षकहरूले सडक छाडेका छैनन् । शिक्षकहरूको आन्दोलनको बीचमा शिक्षामन्त्रीले राजीनामा दिएपछि सरकारमाथि झनै दबाब थपिएको छ । पछिल्लो समय शिक्षामन्त्री भट्टराईको स्वास्थ्य अवस्था प्रतिकुल थियो ।

शिक्षामन्त्री भट्टराईले २०८१ असार ३१ गते शिक्षामन्त्रीमा नियुक्त हुनुभएको थियो । त्रिभूवन विश्वविद्यालयमा लामो समय अध्यापन गराउनुभएको उहाँले गत २०७९ को निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।