Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


हेटौंडामा सुरु भयो गाडीमा जिपिएस प्रणाली, मोबाइलमै हेर्न सकिने


13
Shares

हेटौंडा, असार ६ । मोबाइल वा कम्युटरमै सवारी साधनको गति र रहेको स्थान पत्ता लगाउन सकिने प्रविधि नेपालमा लोकप्रिय बन्दै गएको छ ।

प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा पत्रकार सम्मेलनमार्फत जिपिएस भेकल ट्रयाकिङ सिस्टम (जियोमेट)का प्रभावकारीताका बारेमा जानकारी गराइयो ।

२०६५ सालमा यो प्रविधि नेपालमा भित्रिए पनि यसका प्रयोगकर्ता यतिबेला बढ्दै गइरहेको टेलिम्याटिक्स टेक प्रालिका म्यानेजिङ डाइरेक्टर आतिश गैरेले जानकारी दिए । जिपिए वा जिएसएम प्रविधिमा आधारित यस प्रणालीको प्रयोगपछि सवारी साधान रहेको स्थान र कतिको गतिमा गुडिरहेको छ पत्ता लगाउन सकिने र संभावित दुर्घटनाबाट बच्न सकिने गैरेले बताए ।

हेटौंडाका लागि यो प्रविधि जडान र विक्री वितरण गर्ने आधिकारिक जिम्मेवारी पाएको सिलिकन नेपाल प्रालिका प्रमुख छतेन्द्र आचार्यका अनुसार यस्तो प्रविधिको डिभाइस जडानमा सुरुवाती खर्च न्यूनतम १५ हजार र वार्षिक ५ हजार नवीकरण खर्च लाग्नेछ । यसको जडान पछि मासिक ५ सय रुपैंयाँ अर्थात दैनिक १७ रुपैंयाँका दरले गाडीको अवस्था र गतिबारे जानकारी लिन सकिने उनले बताए ।

नेपालमा यस्तो प्रविधिको प्रयोग करिब ४५ सय सवारी साधनमा भइरहेको छ । विशेष गरी ठूला सवारी साधन, जिप, कार तथा मोटरसाइकलमा पनि यस्तो प्रविधिको प्रयोग गरी आफ्नो सवारी साधनको स्पीड, पार्किङ गरेको स्थान पत्ता लगाई चोरी भए नभएको साथै दुर्घना भए नभएको पनि पत्ता लगाउन सकिने प्रमुख आचार्यले जानकारी दिए ।