२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


यु–१९ एकदिवसीय क्रिकेटमा नेपाल पुछारमा, अफगानिस्तानसँग ७१ रनले पराजित


0
Shares

काठमाडौं, असोज २ । भारतको लखनउमा भएको १९ वर्षमुनिको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पुछारमा रहेर खेल सकाएको छ ।

भारतका दुई तथा नेपाल र अफगानिस्तानका राष्ट्रिय टिम गरी चार टोलीले सहभागिता जनाएको प्रतियोगितामा नेपाल पुछारमा रहेको हो ।

मंगलबार तेस्रो स्थानका लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भयो ।

लिग चरणमा अफगानिस्तानलाई २५ रनले हराएको नेपालको तेस्रो स्थानको भिडन्तमा ब्याटिङ चल्न नसक्दा फराकिलो हारको सामना गर्नुपरेको हो ।

२४५ रनको चुनौती पछ्याउनेक्रममा नेपाल ४५ ओभर क्रिजमा टिकेर १७३ रनमै अलआउट भयो ।

नेपाली टोलीका कप्तान मोहम्मद आसिफ शेख र लोकेश बमले समान २५/२५ रन बनाउँदा अरुण ऐरीले २४ तथा पवन सर्राफले २३ रन जोडे । अलराउन्डर रियाज हसनले ४ विकेट लिए ।

यसअघि, अफगानिस्तानले निर्धारित् ५० ओभरमा ८ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । रेयाज हशनले अविजित रहँदै ११७ रन जोडेको इनिङ्समा सागर ढकाल, पवन सर्राफ र मोहम्मद सांसद आलमले २/२ विकेट लिए ।

चार टिम सहभागी प्रतियोगिताको उपाधि भने भारतको यु–१९ ‘बी’ टिमले जितेको छ ।

मंगलबारै भएको प्रतियोगिताको फाइनलमा भारतको यु–१९ ‘ए’ टिमले १४२ रनको चुनौती पछ्याउनेक्रममा १३१ रनमात्र बनाउन सकेपछि ‘बी’ टिम १० रनले विजयी भएको हो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को आयोजनामा प्रतियोगिता भएको हो ।