२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


लगानीमैत्री वातावरण तयार गर्नेगरी अध्यादेश आएकाले लगानीमा सुधार हुने आशा जागेको छ : अध्यक्ष कोईराला


273
Shares

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले लगानीमैत्री वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएकाले लगानीमा सुधार हुने आशा रहेको बताउनुभएको छ ।

मंगलबार बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोईरालाले अहिले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताउनुभयो । उहाँले बैंकहरुमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पतीको मात्रा बढिरहेको भन्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताउनुभयो ।

अध्यक्ष कोईरालाले निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भनिए पनि निराश हुने अवस्था नभएको बताउनुभयो । उहाँले बैंकहरुबाट पछिल्लो समय लगानी नै नभएको भन्ने अवस्था नभएको भन्दै केही प्रतिशत वृद्धि भइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा लगानीको ग्रोथ वृद्धि भएर जाने अवस्था देखिएको बताउनुभयो । उहाँले जलविद्युत र पर्यटन क्षेत्रमा लगानीको लागि वातावरण बन्दै गएको बताउनुभयो ।

अध्यक्ष कोईरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभयो । कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको बताउनुभयो । उहाँले कर्जा रिकभरीमा स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको बताउनुभयो ।