
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम उपलब्ध गराउन अग्रह गर्नुभएको छ ।
मंगलबार शितलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायभित्र रहेका आदिकविकहरुको नाम र शालिक उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले आयोगले मगर, राई लगायत, आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरुका आदिकविहरुको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताउनुभयो । उहाँले ४ सय बिगाह जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको बताउनुभयो । त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिहरुका आदिकविको मूर्ति रहने बताउनुभयो ।
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवद्र्धन एवं विकास तथा सो समुदायको सशक्तिकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवं कानूनले आयोगलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्