५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


चाडपर्वले प्रकृति र संस्कृतिको संरक्षणमा भूमिका खेल्छन् : राष्ट्रपति पौडेल


78
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्नुका साथै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउने गरेको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । यस्तै आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदीमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रही आएको पनि उहाँले उल्लेख गर्नुभयो । त्यस्तै घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी तथा खिचडी आदि परिकार खाई परिवारसँग रमाइलो गर्ने प्रचलन रहेको पनि व्यक्त गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्वले नेपालीका बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।