
काठमाडौं । कास्की प्रहरीको हिरासतबाट छुटेका रास्वपा सभापति रवि लामिछाने ७२ घण्टा नबित्दै काठमाडौं प्रहरीको हिरासतमा पुगेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहिबार धरौटीमा छुटेका लामिछानेलाई काठमाडौं प्रहरी हिरासतमा लगिएको हो । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण सम्बन्धि मुद्दाको थुनछेक बहस नसकिएकाले उनलाई पुनः हिरासतमा लिइएको हो ।
आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको अपरान्ह ३ बजेसम्म बयान लिइएको थियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान लिएर थुनछेक बहस अघि बढाइएकोमा इजलाशले न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।
लामिछानेका कानुन व्यवसायीहरूले प्रहरी हिरासतमा नपठाएर परिवारको जिम्मामा छाड्न माग गरेका थिए । लामिछाने आफैंले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेकोमा इजलाशले कसैलाई थुन्ने र कसैलाई छाड्ने आदेश गर्न नमिल्ने भन्दै हिरासतमा पठाउन आदेश दिएको हो ।
थुनछेक बहसमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गरेका थिए । थुनछेक बहस भोलि पनि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्