काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुहुने भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने बिहीबार धरौटीमा रिहा हुनुभएको हो ।
उहाँविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
बिहीबार अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा लामिछानेको स्वास्थ्य परीक्षण गराएर उहाँलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उहाँ कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको थियो ।
लामिछानेसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख रुपैयाँ, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि लीला पछाईँ भने हिरासतमै रहेको अदालतले जनाएको छ ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्