१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ : मन्त्री पाण्डे


312
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै पर्यटनमन्त्री पाण्डेले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भएपनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले निगमले भएका वाइडबडी र न्यारोवडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको संकेत गर्नुभयो । उहाँले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई विस्तार र हवाई टिकट सर्वसुलभ (सस्तो) बनाउनुपर्ने भुमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताउनुभयो । उहाँले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरु र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजिमा लागेको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रस्तुत गर्न एक महिनाको समय दिएको बताउनुभयो । उहाँले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रश्तुत गर्न समेत भनिएको उल्लेख गर्नुभयो ।