५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


चोरीको बालुवा भारत निकासी


0
Shares

परासी । चोरी गरी ल्याइएका नदीजन्य पदार्थको विषयमा नवलपरासीको सुस्ता गाउँपालिकाको सीमा क्षेत्रमा सधैं प्रहरी र स्थानीयको लफडा हुने गरेको छ ।

नारायणी नदीबाट बालुवा चोरी गरी लैजादैं गरेको अवस्थामा हरेक दिनजसो सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरीले पक्राउ गर्ने गरेको छ । तर, पक्राउ गरेका बालुवा बोकेका टेक्टरलाई छुटाउन कारोबारीहरुले केही स्थानीयलाई प्रयोग गरेर प्रहरीलाई घेरा हाल्न पठाउने गरेको खुलासा भएको छ ।

सुरक्षाकर्मीले स्थानीय धेरै भएपछि पक्राउ परेका टेक्टरलाई त्यसै छाडेका हुन् । कारोबारीहरुले नदीबाट निकालेका बालुवाहरु सीमा नाका हुँदै भारततर्फ पठाउने गरेका छन् । केही दिनअघि सुस्ताको रेवारेतामा ५ पटकसम्म बालुवा चोरी गरेर लैजादै गरेको अवस्थामा टेक्टर पक्राउ परेपनि स्थानीयले घेरा हालेर सुरक्षाकर्मीबाट फुत्काएर लगेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो ।

नदीजन्य पदार्थ बोकेर आएका टेक्टरलाई समात्ने बित्तिकै केही स्थानीयहरु घरेलु हतियारसहित प्रहरीलाई घेर्न आउँने गरेको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हुलका हुल आउने स्थानीयलाई सम्झाउने पहिलो काम स्थानीय तहको भएको बताउनुभयो । अवरोध गर्ने मान्छे समातेर ल्याउँदैमा समस्या समाधान नहुने भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले स्थानीय तहले त्यसमा समन्वय गर्नुपर्ने बताउनुभयो ।