५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


रवि लामिछानेको मुद्दामा आजदेखि बयान शुरु हुँदै


1.118k
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा आजदेखि बयान शुरु हुँदैछ । जिल्ला अदालत कास्कीले सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका लामिछानेको सोमबारदेखि बयान लिन लागेको हो ।

यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले लामिछानसँग बयान लिइसकेको छ । त्यसै बयानको आधारमा आइतबार सहकारी ठगी मुद्दामा लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा मद्दा दायर भएको हो ।

लामिछानेविरुद्ध अदालतमा आजदेखि थुनछेक बहस हुनेछ । मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेञ्च तय हुनेछ भने बेञ्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटीमा छाड्ने, साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने विषयमा आदेश दिन्छ ।

सोमबार लामिछानेविरुद्ध सहकारी ठगीका साथै सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र एकीकृत कसुर गरि चारवटा कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।

अहिले लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ ।

लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ ।

सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।

अभियोगपत्रको विवरण अनुसार अब रूपन्देही, चितवन, काठमाडौं र पर्सामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान र अभियोजन हुने जनाइएको छ ।

यसैबिच अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्ध मुद्दा दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई गराइसकेको छ भने पत्र प्राप्त भएको जानकारी र लामिछाने निलम्बनमा परेको जानकारी सभामुख देवराज घिमिरेले गराउनसक्ने बताइएको छ ।