Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


सांस्कृतिक पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छ : राष्ट्रपति पौडेल


156
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक पर्वले विविधता भएको नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गर्नुभएको छ ।

शुभकामना सन्देशमा उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले ‘यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।’ उल्लेख गर्नुभएको छ ।

प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको सन्देशमा उल्लेख छ ।

विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको राष्ट्रपतिको भनाइ छ ।

यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ ।

Skip This