काठमाडौं । कैलालीको भजनी नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपैयाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुँडासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उक्त सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिइएकाहरूलाई बरामद सुनचाँदी, नगद र अन्य सामानसहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्