१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


इलाममा व्यावसायिक फूलखेती फस्टाउँदै


91
Shares

इलाम । इलाम भित्रने पर्यटकहरुले फूल खरिद गर्ने क्रम बढेपछि इलाममा व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ । नेपाल र भारतका शहरबाट मौसमी र बेमौसमी फूलका बिरुवाको माग बढेपछि इलाममा व्यावसायिक फूल खेतीमा आकर्षण पनि बढ्दै गएको हो ।

चार वर्षअघि फूल खेती शुरु गरेका इलाम नगरपालिका–७ का प्रविण श्रेष्ठको नर्सरीमा १० लाख रुपैयाँ बढी मूल्यका फूलका बिरुवा छन् । अर्किट, इन्जेलिया, केमेलिया, धूपीलगायतका विभिन्न जातका फूलका बिरुवा श्रेष्ठको नर्सरीमा छन् । सोखका लागि रोपेको फुलको नर्सरी अहिले उन्को आम्दानीको मुख्य श्रोत भएको छ । इलाम सदरमुकामको भ्यु टावरमा बुद्धमाया सोङ्मीले ७ वर्षदेखि फुल व्यवसाय गर्दै आउनुभएको छ । ‘ग्रीन हाउस’ निर्माण, फूलका बीउ र बिरुवा खरिद गरि सोङ्मीले शुरु गरेको ‘भ्यूटावर फूल नर्सरी उद्योग’ फूल उद्योगले चिनिन्छ । इलामका फुल नर्सरीका मुख्य ग्राहक इलाम घुम्न आउने पर्यटक हुन् । घुम्नका लागि आउने पर्यटकले मुख्य कोसेलीका रुपमा फूल खरिद गर्दै आएको व्यवसायी प्रविण श्रेष्ठले बताउनुभयो ।

इलामका नर्सरीमा १५ रुपियाँदेखि १० हजार रुपियाँसम्मको फूल खरिद बिक्री हुन्छ । नर्सरीमा सिजन अनुसारको फूल उत्पादन हुने गरेको छ । फुल व्यवसायीहरुले मासिक ७० हजार रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । फूल नर्सरीहरुमा तीन जनादेखि ५ जनासम्मले रोजगारी पाएका छन् । इलाममा उत्पादन भएको फूल काठमाडौं, पोखरा र भारतको दार्जिलिङ्ग शहरमा बिक्री हुने गरेको व्यवसायी संगिता प्रधानले बताउनुभयो ।

इलामको पशुपतिनगर, फिक्कल, गोदक, भन्ज्याङ, रक्से लगायतका बजारमा व्यावसायिक फूल खेती हुने गरेको छ । व्यवसायीले पर्यटकलाई केन्द्रित गरि फूल खेती गर्दै आएका छन् । फ्लोरिकल्चर एशोसिएसनले फूल खेती प्रवद्र्धनका लागि नेपाली र विदेशी प्रशिक्षक ल्याएर इलामका किसानलाई तालिम प्रदान गर्न थालेपछि यहाँका कृषक पनि फूलखेतीमा हौसिएका हुन् ।