काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा पेश गरिने भएको छ ।
सहकारीमा बचत गरेका सर्वसाधरणको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन निर्देशक लामिछानेलाई कास्की प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालत पेश गर्न लागेको छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले म्याद थपका लागि अदालत पेश गर्न लागेको हो ।
लामिछानेविरुद्ध प्रहरीले तीनवटा कसुरहरु सहकारी ठगी, किर्ते र संगठित अपराधमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर पुनः अनुसन्धान गर्ने तयारी गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालतल कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि एक हुन् । सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको लामिछानेलाई आरोप लागेको हो ।
सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी राई), तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीको निष्कर्ष छ ।
उक्त निष्कर्षको आधारमा प्रहरीले लामिछानेमाथि थप अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर पक्राउ गरेको हो ।
सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरेको आरोप लागेका राई फरार छन् भने सञ्चालक जोशी एक महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् । यस्तै गोर्खा मिडियाका अर्का सञ्चालक रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् ।
लामिछानेमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद मागेको हो ।
प्रतिक्रिया दिनुहोस्