२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


सरकारले सहकारी छानविन समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गरोस् : सभामुख घिमिरे


1.04k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्व कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको हो ।

सभामुख घिमिरेले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरुलाई ठिक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलिय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रश्तुत गरेको पनि बताउनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताउनुभयो ।

उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रुपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गर्नुभयो । उहाँले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको भन्दै विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदनले सहकारी पीडितहरुको आँशु पुछिनुपर्ने बताउनुभयो ।