काठमाडौं । झापाको बिर्तामोडमा १५ दिने किताब मेला सुरु भएको छ ।
सोमबारबाट सुरु भएको किताब मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्थाहरूमध्ये वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
मेलामा विभिन्न विधानका किताबहरू राखिएको छ । झापाली साहित्यकारहरूले रचना गरेका किताबहरूको छुट्टै स्टल राखिएको छ । वर्तमान अवस्थामा मानिसहरूमा किताब पढ्ने बानी हराउँदै गएकाले पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको सिग्देलले जानकारी दिनुभयो ।
मेलाले घर/घरमा पठन संस्कृतिको विकास गर्नका लागि मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न सहयोग मिल्ने सिग्देलको भनाइ छ । उहाँले दशैँमा आफन्तजनलाई किताब उपहार दिने प्रचलन विकास गर्नु मेलाको उद्देश्य रहेको पनि बताउनुभयो ।
दशैँमा पुस्तक उपहार दिइयो भने त्यसले छुट्टै महत्व राख्ने आयोजक संस्थाहरूको धारणा छ । मेला अवधिभर विभिन्न साहित्यसम्बन्धी अन्तरसंवादका कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्