१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ : मन्त्री दाहाल


117
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधारहरुका संरचना बनाउँदा सन्तुलित विकासको अवधारणा अनुसार गरिने बताउनुभएको छ ।

बिहीबार पाँचौ नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री दाहालले सडक र भवन लगायतका संरचनाहरु बनाउँदा सन्तुलित विकासका अवधारणा अनुसार विकासका काम अगाडि बढाउने बताउनुभएको हो ।

मन्त्री दाहालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने गरी डिजाइन गर्न शुरु गरेको बताउनुभयो । उहाँले अबका पूर्वाधारहरु एक सय वर्ष पछिका आवश्यकता र प्रविधि अनि विकासका सम्भावना र चुनौतीहरुलाई मध्यनजर गरी बनाउने सरकारको योजना रहेको स्पष्ट पार्नुभयो । उहाँले अब बन्ने पूर्वाधारहरु जलवायु अनुकुलन र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरुको सामना गर्ने हुनुपर्छ भन्ने सोचाई सरकारको रहेको बताउनुभयो ।

मन्त्री दाहालले पूर्वाधारहरु विपद् जोखिम न्युनिकरण र प्रदुषणरहित प्रविधिका सिद्धान्त अवलम्वन गरी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सडक सुरक्षामा सडक डिजाइन, निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरु अवलम्वन गर्न कडाइका साथ लागि परेको जानकारी गराउनुभयो । मन्त्री दहालले सडक सुरक्षा ऐन छिट्टै सदनमा ल्याउने तयारीमा रहको पनि उल्लेख गर्नुभयो ।

मन्त्री दाहालले पूर्वाधारहरु निर्माणमा मानविय सुरक्षा मापदण्ड निर्धारणमा विशेष योजना बनाई कडाइका साथ लागु गर्नुपर्ने बताउनुभयो ।