२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


न्युरोडको सडकपेटी विस्तारमा अवरोध


1.053k
Shares

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा केही स्थानीयले पुनः अवरोध गरेका छन् । पाटन उच्च अदालतको आदेशपछि गत बुधबारदेखि काठमाडौं महानगरपालिकाले वडा नम्बर २४ बाट फुटपाथ विस्तारको काम अघि बढाएकोमा वडा नम्बर २२ मा पुग्दा अवरोध गरिएको हो ।

वडा नम्बर २४ अन्तर्गतको इन्द्रचोकदेखि जुद्द शालिकसम्मको फुटपाथ विस्तारको काम अघि बढाउँदै महानगरपालिकाको टोली जुद्द शालिक पुग्दा स्थानीयले शुक्रबार बिहानैदेखि अवरोध गरेका थिए । काठमाडौं महानगरको टोली शुक्रबार वडा नम्बर २२ मा जाने भएपछि वडाध्यक्ष चिनकाजी महर्जनले केही स्थानीयलाई बिहानैदेखि विरोधमा उतारेका थिए । अवरोधकाबीच महानगर प्रहरीले डोजर ल्याई सडक पेटी भत्काउन सुरु गर्दा स्थानीये डोजर नै कब्जामा लिंदै विरोध गरेका थिए ।

प्रदर्शनकारीले सडक काट्न लगिएको मसिन र डोजर कब्जामा लिनुका साथै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भूदेव शाहलाई समेत कब्जामा लिएर उनीहरुले सडकमा धर्नामा बस्न बाध्य बनाएका थिए ।

त्यति मात्र होइन समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलाइ पनि प्रदर्शनकारीले अवरोध गर्नुका साथै दुव्र्यवहारको प्रयास गरेका थिए । विरोधका नाममा यस्तो व्यवहार हुँदा सुरक्षामा खटिएको प्रहरी भने मुकदर्शक बनेको थियो । प्रहरी मुकदर्शक मात्रै बनेको नभई उल्टै आन्दोलनकारीहरुसँग कानेखुशी गर्दै महानगरपालिकालाई असहयोग गरेको देखिन्थ्यो । महानगर प्रहरी अघिल्लो घेरामा रहँदा दोश्रो घेरामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयंमता अपनाउन आग्रह मात्रै गरेको देखियो । त्यतिमात्र कहाँ हो र ? नगर प्रहरीबीचमै पनि समन्वय भएको देखिएन ।

महानगरपालिकाले भने पाटन उच्च अदालतको आदेश देखाउँदै फुटपाथ विस्तारको काम अघि बढाउने अडान राखेको छ ।

वडा नम्बर २४ तर्फ निर्वाध काम भईरहँदा वडा नम्बर २२ मा अवरोध हुनुलाई राजनीतिक प्रतिशोधको रुपमा हेरिएको छ । वडाध्यक्ष महर्जनको पार्टी एमाले अहिले सत्ताको नेतृत्वमै रहेकाले उनीहरु झन् हौसिएको देखिएको छ ।