६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024


सरकारको काम कारवाहीप्रति प्रधानमन्त्रीको असन्तुष्टि


364
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारवाहीप्रति आफैंले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री दाहालले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम हुन नसकेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले योजना तथा कार्यक्रमहरु निर्धाराण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताउनुभयो । उहाँले मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त शुरु नै हुन नसकेको अवस्था रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा कुल ३ हजार ४२१ तय भएका माइलस्टोनमध्ये हालसम्म ६३३ मात्र सम्पन्न हुनु र चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि २४५ अझै शुरु नै हुन नसक्नुले हाम्रो कार्य क्षमताामाथि नै प्रश्न उठेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले माघसम्म कुल राजश्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताउनुभयो । उहाँले पुँजीगत खर्च त २४ प्रतिशत भन्दा कम भएको भएको भन्दै पुँजी निर्माण नभइ विकासले गति नलिने स्पष्ट पार्नुभयो । उहाँले सो स्थितिमा अर्थतन्त्र चलायमान नहुने जिकिर गर्नुभयो । आफैँले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन भन्ने प्रश्नको उत्तर चित्तबुझ्दो नभएको बताउनुभयो ।