१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ४ वटाको प्रगति ८० प्रतिशत भन्दा बढी : प्रधानमन्त्री दाहाल


221
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि भएको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये ३ वटा सम्पन्न भइसकेका बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले ४ वटाको प्रगति ८० प्रतिशत माथि, ६ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र ६ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिनुभयो । त्यस्तै ५ वटाको प्रगति १० प्रतिशत मुनी रहेको उहाँले बताउनुभयो । उहाँले सुनकोशी-मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताउनुभयो । त्यस्तै, विद्युत प्रशारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडी बढेको उहाँको भनाई छ ।

प्रधानमन्त्री दाहालले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकम लगायतसँग छलफल भएको बताउनुभयो । सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पुर्वाधार करबाट प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । त्यस्तै, व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले हुलाकी राजमार्गका बाँकी पुलहरुको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आ.व.को बजेट तर्जुमाका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिइएको बताउनुभयो । उहाँले जयनगर-जकपुर-कुर्था-भगाहा रेलवेमा कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो ।

त्यस्तै, काठमाडौं-तराई/मधेस द्रुतमार्गको प्रवेश बिन्दु रहने खोकनाको जग्गा अधिग्रहणका लागि स्थानीय समुदायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको बताउनुभयो । उहाँले आयोजनाको हेडवक्र्स सम्मको पहुँचमार्ग हिउँदमा सञ्चालन हुनेगरी पुनःनिर्माण गरिएको पनि बताउनुभयो ।