Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल


8.1k
Shares

काठमाडौं । नेपाली सेनाको संरचना नै खल्बल्याउने गरी बढुवाको तयारी थालिएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले आफूपछि को प्रधानसेनापति हुने भन्ने विषयलाई अन्योलमा राखी संरचना खल्बल्याएर बढुवा तयारी थालेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सेनाभित्र रोलक्रम मिचेर र बढुवा वृत्तिविकासको संरचना खल्बल्याएर अघोषित रूपमा सैनिक ‘कु’ गराउन खोजिएको छ।

‘संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई ‘कु’ गर्न खेजे पनि सफलता मिलेन। यसपटक उनी जसरी पनि प्रधानसेनापति शर्मालाई प्रयोग गरेर नीतिगत रूपमै बढुवा संरचना खल्बल्याउने, माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा लागेका छन्। यसमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको पनि सहमति छ’, सैनिक उच्च स्रोतले भन्यो।

प्रधानसेनापति शर्माले बेलायतको औपचारिक भ्रमणमा जानुअघि हालै म्याद थप गरिएका सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालको विशेष आग्रहमा माओवादी लडाकुबाट सेनामा समायोजन भएकालाई तालिम र वृत्तिविकासमा सहयोग पुग्नेगरी उनलाई त्यहाँ खटाइएको र अब रिक्त हुने उपरथी पदमा बढुवा गर्ने योजना बनाइएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।