Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘भिजिट भिसा’ले घर न घाट

विदेसिनेको व्यथा

33.2k
Shares

काठमाडौं । झापाकी ४० वर्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्।

कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्।

विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो अनुहार लगाएर ब्युरोको एक कुनामा बसिरहेकी थिइन्। छोराछोरीको पढाइ र घरको बाध्यताले उनी विदेश जान थालेकी थिइन्। परिवारको जिम्मेवारीले उनी साह्रै चिन्तित थिइन्। त्योभन्दा ठुलो पीडा पतिको माया र साथ पाउन नसक्दा भएको उनले बताइन्। दुई छोराकी आमा उनलाई आफैंले प्रयोग गर्ने टेलिफोन नम्बर पनि थाहा छैन।

विमानस्थलबाट फर्काइएपछि उनी रोइरहेकी छन्। उनका आँखाका डिल सुन्निएका छन्। विदेसिन नपाउँदा उनको चित्त दुखेको छ। ब्युरोले गैरकानुनी रूपमा विदेश जाँदा जोखिममा परिने जानकारी उनलाई गराएको छ। तर उनी भने फेरि पनि कसरी विदेश जान पाइएला भन्ने ध्याउन्नमा छिन्।

ब्युरोबाट राहदानीलगायत अन्य कागजपत्र पाए फेरि दसैंअगाडि विदेसिने उनको सोच छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।