प्रतीक्षा खनाल/उत्तम मानन्धर (इमेज)
काठमाडौं, भदौ २५ । समाज आधुनिकतातर्फ बढ्दै गर्दा महिलाहरुको महान् चाड तीज पनि आधुनिक बन्दै गएको छ ।
पछिल्लो समय तीजमा खाइने दर र लगाउने पहिरनमा पनि आधुनिकीकरण देखिएको छ ।
नेपाली हिन्दु महिलाहरुको महान् चाड तीजका पूर्वसन्ध्यामा महिला दिदीबहिनीहरुले आफनो गच्छेअनुसारको पहिरन लगाउने चलन पछिल्लो समय परिमार्जन भएको छ ।
भड्किलो पोसाक र शृंगारमा सजिएर तीजपर्व धुमधामका साथ मनाउने चलन पछिल्लो समय बढेको छ ।
परापूर्वकालदेखि मनाउने गरिएको तीजलाई पछिल्लो समयमा आधुनिकताले गाँजेकोमा द्विविधा छैन ।
समाजमा स्थापित हुनका लागि गरिने यस प्रकारको होडबाजीले अकिांशलाई दिदीबहिनीलाई अप्ठ्यारोसमेत पर्ने गरेको छ ।
यही होडबाजीकाबीच तीजका लागि भनी किनमेल गर्नेको संख्या पनि बजारमा उत्तिकै देखिन्छ । राजधानीका अधिकांश कपडा पसलमा ग्राहकहरुको राम्रै चहलपहल हुने गरेको छ ।
व्यापारीहरुकाअनुसार समयको परिवर्तनसँगै परम्परागत पोसाककोभन्दा आधुनिक पोसाकको माग बढिरहेको छ । साडी–चोलोको माग तुलनात्मकरुपमा घट्दै गएको व्यापारीहरुको भनाइ छ ।
अहिलेको समयमा पहिलेका महिलाहरु सौभाग्यको प्रतीक रातो रङका पहिरन बढी रुचाउँथे भने अहिले अरु रङका पहिरनको माग पनि बढ्दै गएको छ ।
गुलाबी, प्याजी, पहेंलो इत्यादि रङहरु ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।
वास्तवमा महिलाको पहिचान बोक्ने साडी र चोलो नै हो । यद्यपि, अचेल यो चलन विस्तारै हराउँदै गएको हो कि आभास हुन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्