
काठमाडौं, भदौ २५ । नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदान–प्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ ।
मन्त्रालयकाअनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौंमा हुने टुंगो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति जनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणकाक्रममा दुई देशबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त समझदारीअनुसार दुवै देशले ऊर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो ।
नेपालले उक्त सम्झौताअनुसार नै सात सदस्यीय संयन्त्र निर्माण गरेको छ । त्यसको सहअध्यक्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय रहेका छन् ।
समितिमा ऊर्जा महाशाखा हेर्ने सहसचिव, ऊर्जाकै कानुन हेर्ने सहसचिव, परराष्ट्र मन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र मन्त्रालयकै सिनियर डिभिजनल इन्जिनियर सदस्यसचिव रहेका छन् ।
ऊर्जामन्त्री पुनले चीनसँग भएका सहमतिलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउने निर्णय भएको जानकारी दिए ।
चिनियाँ पक्षले बैठकमा सहभागिता जनाउनुअघि एजेन्डा पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ ।
ऊर्जामन्त्री पुनसहित ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले चीनलाई पठाउने कार्यसूचीसमेत तय गरिसकेको छ ।
बैठकमा नेपाल–चीनबीचको अन्तरदेशीय प्रसारणलाइन र ग्रीड कनेक्सन, दुई देशबीचमा संयुक्तरुपमा निर्माण गर्नसकिने सम्भावित जलविद्युत् परियोजना र ऊर्जा क्षेत्रमा गर्नसकिने अन्य सम्भावनाबारे छलफल गर्ने कार्यसूची छ ।
यस्तै, केही महत्वपूर्ण प्रसारणलाइन तथा जलविद्युत् आयोजनाकाबारेमासमेत संयन्त्रमा छलफल हुने कार्यसूची छ । रासस
प्रतिक्रिया दिनुहोस्