काठमाडौं । चितवनका दुई पोथी गैंडा पुष्पा र अञ्जली आजबाट कोशी टप्पुमा स्थानान्तरण गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो ।
पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग घोरमा राखेर कोशी टप्पु पुर्याइएको थियो । जसलाई वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ । कोशी टप्पु पुर्याइएका पुष्पा र अञ्जलीलाई बस्नको लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ ।
पानी सहितको घाँसे मैदान क्षेत्रमा रहने गैंडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन् । कोशी टप्पु पुर्याइएका पुष्पा र अञ्जली दुवै टुहुरा बच्चा हुन् । उनीहरु दुवैको बच्चा अवस्थामा उद्धार गरिएको थियो । सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलीको उमेर २ वर्ष ५ महिनाको रहेको छ ।
वंश बिस्तारको योजना अनुसार कोशी टप्पु पुर्याइएका दुई पोथी गैंडा प्रजनन योग्य भएपछि भाले गैंडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैंडा ४ वर्ष र भाले गैंडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन् । पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरणमन्त्री डाक्टर महतो कोशी टप्पु पुग्नुभएको थियो ।
उहाँले मानिस सँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलीका लागि कोशी टप्पु उपयुक्त बासस्थान भएको बताउनु भयो । मन्त्री महतोकाअनुसार आरक्षमा लगिएका दुई पोथी गैंडा वंश बिस्तारका लागि ल्याइएको हो । केहि समयमै काठमाडौंबाट भाले गैंडा कोशी टप्पु ल्याइने समेत उहाँले जानकारी दिनुभयो । मन्त्री महतोले कोशी टप्पुलाई अर्नासँगै हात्ती र गैंडा अवलोकन समेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताउनुभयो । उहाँले आरक्षमा छिट्टै बाघ समेत स्थानान्तरण गरी ल्याउने बताउनुभयो । बाघ ल्याउन वातावरणीय अध्ययनको काम थालिएको बताउनुभयो ।
कोशी टप्पुबाट २०७३ सालमा अर्नाको वंश बिस्तारका लागि भन्दै १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए । सोही क्रममा अर्नाको सट्टामा गैंडा दिइने बताइएको थियो । सोही अनुरुप निकुञ्जमा हुर्किएका पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्