Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


भारतसँग नहारेको नेपाल !


35.1k
Shares

काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार भारतविरुद्ध नेपालले ब्याटिङ सुरुवात गर्दै गर्दा टेलिभिजनको प्रत्यक्ष प्रसारणमा एक प्रस्तोताले आफ्ना सहकर्मीलाई सोधे, ‘नेपाली टोली कति ओभरसम्म टिक्ला? २५ या ३०? अर्का प्रस्तोताले मुस्कुराउँदै जवाफ दिए, ‘बढीमा २५ ओभर ।’

अघिल्लो खेलमा नेपालले पाकिस्तानसँग विशाल अन्तरले हारेकाले हुन सक्छ, नेपाली टोलीमाथि उनीहरूको हेर्ने दृष्टिकोण कमजोर थियो। तर, नेपाली क्रिकेट टोलीले ४८ दशमलव २ ओभरसम्म टिकेर उनीहरूको पहिलो अनुमानमाथि नै सानदार विजय हासिल गरे।

यो नेपालले अनुमानमाथि जितेको पहिलो क्षण थियो। वर्षाका कारण बिथोलिएको नेपाल–भारतबिचको प्रतिस्पर्धा भारतले जित्यो।तर भारतसँग ‘नहारेका’ थुप्रै क्षण समर्थकलाई उपहारका रूपमा दिन नेपाली टिम सफल रह्यो।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको भारतीय टोलीले सोचेको थियो होला, नेपाललाई चाँडै आउट गर्ने अनि आफूले पनि चाँडै विजयी लक्ष्य प्राप्ति गर्ने, वर्षात्को समस्याबाट मुक्ति पाउने।तर भारतीय टोलीको यो सपना पूरा भएन। उनीहरूले सोचेभन्दा निकै बढी अर्थात् २३१ रनको लक्ष्य भारतीय टोलीले सामना गर्नुपर्‍यो।उदाउँदै गरेको नेपाली टिम नहारेको यो एउटा सानदार क्षण हो।

विश्वकप जितेको भारतीय टोलीसँग नेपाली ब्याट्सम्यान कसरी टिक्लान् भन्ने धेरैको अनुमान थियो। नेपाली खेलाडीले विश्वविख्यात भारतीय बलरको सामना मात्र गरेनन्, ४ छक्का र १८ चौका प्रहार गर्दै नेपालप्रतिको कमजोर अनुमानलाई ‘बाउन्ड्री’ पार गराए।

भारतीय टिमले नसोचेको ‘सरप्राइज’ लक्ष्य पनि नेपाली क्रिकेट नहारेको क्षण हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।