Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


‘व्यवस्थापन’ पढ्छ नेपाल


286
Shares

काठमाडौं । विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ।

विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन्। पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले देखाएको छ।

भलै हाम्रो देश कृषि प्रधान हो तर, अचेल कृषि विषय पढ्न चाहनेको संख्या निकै न्यून रहेको विश्वविद्यालय अनुदान आयोगको तथ्यांकले देखाएको छ। एक दशक अघिसम्म कक्षा १२ पास गरेकामध्ये अधिकले शिक्षा शास्त्र अध्ययन गर्थे तर, अहिले त्यस्तो छैन।

सरकारले प्राविधिक शिक्षामा जोड दिने नीति लिए पनि उच्च शिक्षातर्फ यो विषय पढ्ने विद्यार्थीको रुचि खासै देखिँदैन। प्राविधिक शिक्षातर्फका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना प्रतिशत २२.१८ मात्र रहेको विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विगतका केही दशकमा मानविकी तथा सामाजिक संकायतर्फका विषयमा विद्यार्थीको रुझान बढी थियो। किनभने गैरसरकारी र सरकारी संस्थामा समेत समाजशास्त्र, ग्रामीण विकास, सामाजिक कार्य, द्वन्द्व व्यवस्थापनलगायत विषयमा विद्यार्थी रुचि थियो।

तर, अहिले स्थानीय तहमै विभिन्न नयाँ विषय पढ्न पाउने अवसर सिर्जना हुन थालेपछि विद्यार्थीको रुझान पनि बदलिँदै गएको शिक्षाविद् कोइरालाको बुझाइ छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।