काठमाडौं । शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे ।
प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए ।
राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो ।
१ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो ।
प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् ।
ढोकाढोकामा सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए । उनीहरुले सुरक्षा जाँचपछि सहजै भित्र छिर्न दिन्थे तर निस्कन दिन्थेनन् ।
‘प्रधानमन्त्री आउने भनेर दुई घन्टा कुर्यौं,’ एसओएस माध्यमिक विद्यालयका सानोठिमीका विद्यार्थी अविचित ओलीले भने, ‘पानी खान र शौचालय जान पनि पाइएन ।’
हल छिर्न सुरक्षाकर्मीले दुई ठाउँमा खानतलासी गरेका थिए । उनीहरुले स्काउटका ड्रेस लगाएका स्वयमसेवक विद्यार्थीलाई हलभित्र उभिन समेत दिएका थिएनन्
औपचारिक कार्यक्रम ५ घण्टापछि सकियो । त्यसपछि मात्रै विद्यार्थी हलबाट बाहिर निस्कन पाए । १२ बजे हलमा छिरेपछि ५ बजेसम्म भोकै बस्नुपरेको उनीहरुले गुनासो गरे ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसमेत निर्धारित समयभन्दा १ घण्टा ढिलो अर्थात २ बजे ‘प्रधानमन्त्री अझै हिँड्नुभएको छैन,’ भन्दै कार्यक्रम स्थलमा आईपुगेका थिए । शिक्षामन्त्रीले पनि झण्डै एकघण्टा प्रधानमन्त्रीको प्रतिक्षा गरे ।
प्रमुख अतिथि नै ढिला आएपछि औपचारिक समारोहपछिको सांस्कृतिक कार्यक्रम अघि सारिएको थियो । १ बजे भनिएको कार्यक्रम ३ बजे मात्रै सुरु भयो ।
प्रधानमन्त्री ओलीले देशभरका उत्कृष्ट विद्यालयलाई ४५ मिनेट लगाएर पुरस्कार बाडें र ४५ मिनेट समारोहलाई सम्बोधन गरे । शिक्षामन्त्रीले धन्यबाद मन्तव्य दिएपछि समारोह सकियो । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्