१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


‘काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षण गर्नुपर्छ’


468
Shares

काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् ।

शहरी विकास मन्त्रालयमा भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले काठमाडौं उपत्यकाका नागरिकलाई दुई तीन महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताउनु भयो ।

छलफलमा सहभागी नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले फोहोर व्यवस्थापनको दिगो समाधानका लागि बसाईंसराई निरुत्साहीत गर्नुपर्ने सुझाव दिनुभयो ।

धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले वर्षौंदेखि फोहोर व्यवस्थापनबारे छलफल भएपनि समाधान निकाल्न सरकार जिम्मेवार नभएको आरोप लगाउनुभयो ।

शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद,प्रदेश सभाका सदस्यहरु,ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो ।

शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।