१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


प्रधानमन्त्री पत्नी सीताको निधनबाट पार्टी स्तब्ध : माओवादी


247
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले बुधबार शोक वक्तव्य जारी गर्दै दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।बक्तब्यमा गुरुङले प्रधानमन्त्री दाहाललकी जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाउनु भएको छ ।

प्रधानमन्त्री पत्नी सीताको आज बुधबार बिहान ८ बजेर ३३ मिनेटमा कामाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो । महासचिव गुरुङले शोक वक्तव्यमा दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाउनु भएको छ ।विक्रम सम्बत २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । विक्रमसम्बत २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार रहनु भएको थियो ।

पार्टी कामका लागि पञ्चायत कालमा लामो समय भूमिगत जीवन बिताउनु भएकी सीताले माओवादी जनयुद्ध सुरुवात भएपछि (२०५२ सालदेखि) भूमिगत राजनीतिमा सक्रिय रहँदै आउनु भएको थियो ।

पछिल्लो समय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुनुभएको थियो । हाल चितवनको भरतपुर महानगरपालिका वडा नंम्बर १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आएको माओवादी केन्द्रले जनाएको छ ।

सल्लाहकार सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केहीबेर अघि माओवादीको पार्टी कार्यालय कोठमाडौंको कोटेश्वरस्थित पेरिस डाँडामा लगिएको छ । उहाँको पार्थिव शरीर १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।