१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


धरानमा घरैपिच्छे डेंगुका विरामी


5.564k
Shares

सुनसरी । सुनसरीको धरान उपमहानरपालिकामा पाँच वर्षपछि पुनः डेंगु रोगको संक्रमण फैलिएको छ ।

डेंगुका कारण धरान उपमहानरपालिका वडा नम्बर – १७ की ३७ वर्षीय एक महिलाको मृत्यु भएको छ । डेंगुका कारण २ हजार भन्दा बढि सर्वसाधारण विरामी परेका छन् । डेंगु रोगको संक्रमण फैलदा समेत उपमहानगरपालिकाले नियन्त्रणमा चासो नदिएको स्थानियको गुनासो छ । धरानमा अव्यवस्थित बसोवास,फोहोर मैला र खानेपानी खुल्ला भाडामा जम्मा गर्ने गरेका कारण लामखुट्टेको संख्या बृद्धि भएर डेंगु संक्रमण फैलिएको हो । डेंगुबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बृद्धि भैरहेको छ ।

डेंगु रोग लागेकाहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गराईरहेका छन् । धेरैजसो विरामीहरु अस्पताल भर्ना नभई घरमै बस्ने गरेका कारण विरामीको संख्या एकिन गर्न समस्या भएको छ । धरानको विजयपुर अस्पतालमा २ हजार विरामीको उपचार गरिएको अस्पतालका प्रमुख प्रशासक इन्दु नेपाल योन्जनले जानकारी दिनुभयो । उनले विजयपुर अस्पतालमा ४० जना डेंगु रोगबाट संक्रमण भएका विरामीहरुको उपचार भैरहेको जानकारी दिएका छन् । बीपी प्रतिष्ठानमा दैनिक ६० देखि ७० जना डेंगुका विरामी संक्रमित हुने गरेको धरान उपमहानगरपालिकाका स्वास्थय महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो ।

धरानमा खानेपानीको हाहाकार भएपछि स्थानीयले पानी खालीभाडामा जम्मा गर्ने गरेका कारण लामखुट्टेको संख्या बृद्धि भएर डेंगुको संक्रमण फैलिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताको भनाई छ । लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने,शरिरमा दादुरा जस्ता फोका आउने, लिवर पुल्ने, टाउको दुख्ने, पखला लाग्ने, जोर्नी दुख्ने र शरिर कमजोर हुने डेंगु सक्रमणका लक्षण भएको मेहताले बताउनुभयो । डेंगु सक्रमणका कारण विरामीको रगतमा प्लेटलेस कमी हुने भएकाले विरामीले पोसिलो र झोल पदार्थ बढि मात्रामा खानुपर्ने उहाँको सुझाव छ ।

धरानको वडा नम्बर १७, ११, १६, ८ र १५ मा बढि डेंगु संक्रमणका विरामी परेका छन् । वडा नम्बर १, ७, ९,१०,१२ र १३ मा पनि डेंगु रोगको संक्रमण देखा परेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिनुभयो । पाँच बर्ष अघि धरानमा डेंगु रोगको संक्रमणबाट ६ हजार भन्दा बढि सर्बसाधारण विरामी परेका थिए । जसमा तीनजनाको डेंगुकै कारण निधन भएको थियो ।