४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


लेखा समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधिको बनाउन ५ सदस्यीय उपसमिति गठन


78
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाएको छ ।

बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । समिति बैठकपछि समिति सचिव एकराम गिरीले समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन सांसद राजन केसीको संयोजकत्वमा सांसदहरु ऋषीकेश पोखरेल, अमरेशकुमार सिंह, हरि ढकाल र रामकृष्ण यादव सदस्यगरी पाँच जनाको उप–समिति बनाएको बताउनु भयो । उहाँले उप–समितिलाई समितिको आगामी बैठकमा समितिको आन्तरिक कार्यविधि तयार गरी पेस गर्ने कार्यदेश समितिले दिएको बताउनु भयो ।

बैठकमा बोल्दै नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारले गर्ने आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने भएकाले समितिप्रति जनताको भरोसा रहेको बताउनु भयो । उहाँले अहिले मुलुकमा अख्तियारजन्य र भ्रष्टाचारका प्रश्नहरु उठिरहेको भन्दै लेखा समिति सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक लेखा समिति मन्त्री र सांसदलाई आतंकित गर्ने थलो नभई सहजीकरण गर्ने थलो रहेको बताउनु भयो । उहाँले समितिले कसैलाई आतंकित पार्नु नहुने भन्दै ठीक बेठीक हेरेर तथ्यका आधारमा निस्कर्ष निकाल्नु पर्ने बताउनु भयो। उहाँले समितिले सत्तापक्ष, को प्रतिपक्ष सबैलाई एकरुपमा हेर्नुपर्ने बताउनु भयो।

त्यस्तै समिति बैठककमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले सबै सरकारी निकायहरुप्रति जनताको विश्वास गुमेको अवस्था रहेको बताउनु भयो । उहाँले लेखा समितिले जनतामा गुम्न लागेको विश्वास दिलाउने काम गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले समितिले सबैले थाहा पाउने गरी बेरुजु लगायतका विषयमा कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय सिञ्चारमाध्यममा धेरै झुटो समाचार आउने गरेको भन्दै कुन समाचार सत्य र कुन असत्य हो भन्ने छुट्याउन समस्या रहेको बताउनु भयो। उहाँले समितिमा पर्ने उजुरीहरु पनि कुन सत्य हो कुन असत्य हो छुट्याउन नसकिने बताउनु भयो। उहाँले फेक न्युजले आतंक मच्चाए जस्तै बेरुजुले पनि आतंक मच्चाएको उल्लेख गर्नुभयो।

त्यस्तै अर्का सांसद गोकुलप्रसाद बाँस्कोटाले समितिको बैठक कुनैपनि विषय वस्तु बिना बस्नु ठिक नभएको बताउनु भयो । उहाँले समितिमा हुने छलफलका विषयमा सांसदहरुलाई अगाडि नै जानकारी दिएर मात्रै बैठक बस्नुपर्ने बताउनु भयो। उहाँले संसद नभएको समयमा सांसदहरु निर्वाचन क्षेत्र तथा पार्टीको काममा उपत्यका भन्दा बाहिर जानसक्ने विषयमा पनि ख्याल गर्न आवश्यक रहेको बताउनु भयो ।