८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


आधीआबादी महिला भलिबल लिग असोज १२ देखि, विजेतालाई ६ लाख


0
Shares

काठमाडौं, भदौ १८ । नेपाल भलिबल संघ र भारतको आधीआबादी फाउन्डेसनको सहकार्यमा आगामी असोज १२ देखि १७ गतेसम्म महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा चितवन टाइगर्स, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डाइमन्ड र पोखरा पिन्केस गरी ६ ओटा टिम सहभागी हुनेछन् ।

भलिबल खेलको विकासका लागि ‘प्राइभेट पार्टनरसीप’को अवधारणालाई अघि बढाउने उद्देश्यले भारतको आधीआबादी फाउन्डेसनसँग १० वर्षका लागि सम्झौता गरिएको हो ।

प्रतियोगिताको विजेतालाई ६ लाख, उपविजेतालाई तीन लाख तथा तेस्रो हुने टिमलाई डेढ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यस्तै, प्रतियोगिताको एक सर्वोत्कृष्ट खेलाडीलाई एउटा टीभीएस स्कुटरसँगै ५० हजार रुपैयाँ दिइनेछ ।

सोमबार काठमाडौंका पत्रकार सम्मेलन गरी भलिबल संघले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ ।

प्रतियोगितालाई सशक्त बनाउन भारतीय सिनेकर्मीहरु रबिना टन्डन, पूजा गौर, रिशिका सिंह, प्राची तेलन, सोनिया शर्मा र रितु दुधानीलाई सद्भावनादूतसमेत बनाइएको छ ।