
काठमाडौं । राजधानीमा दैनिक करिब ७ सय ५० हाराहारीमा राँगा वध गरिन्छ । करिब २ हजारको संख्यामा खसी–बोका वध गर्ने गरेका छन् । दैनिक हजारौं कुखुरा वध गरिन्छ ।
तर, अचम्म, महानगरमा हरेक दिन सयौंको संख्यामा पशुचौपाया वध गरिँदा त्यसको कुनै स्वाथ्य परीक्षण नै गरिँदैन । केवल वर्षमा एकपटक दशैंमा मात्र स्वास्थ्य परीक्षण गरेको चौपायाको मासु खान पाइन्छ । पछिल्लो समय मासु पसल अनुगमनमा महानगरले अलि चासो दिन थालेको छ ।
‘हाम्रो चाहना महानगरबासीलाई स्वस्थ मासु खुवाउने हो, कसरी खुवाउने भन्ने विषयमा बल्ल अनुगमन गर्न थालेका छौं’ –कामपा कृषि तथा पशुपक्षी विभागका निर्देशक बलराम त्रिपाठीले भन्नुभयो । ‘महानगरसँग पशु चिकित्सक छन्, उहाँहरूबाटै मासु निरीक्षण जारी राखेका छौं’ –उहाँको भनाइ छ । पशु चिकित्सकद्वय डा. अवधेश झा र डा. पूजा खनालले मासु पसलको अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
तर, कामपाले अनुगमन गरेको जनाए पनि खासै उपलब्धि देखिँदैन । करिब ४० लाख जनसंख्या बसोबास गर्ने कामपाभित्र त्यहाँका बासिन्दालाई मासु खुवाउन कस्तो चौपाया वध गरिन्छ भन्ने विषयमा कामपा स्वयं अनविज्ञ छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्