
काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी विषयमा मुद्दा नचलाउने निर्णय गरेका छन् ।
रास्वपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकै दिन सोमबार सरकारका तर्फबाट महान्यायाधिवक्ता पोखरेलले लामिछानेविरुद्ध राहदानीको विषयमा मुद्दा नचलाउने निर्णय गरेका हुन् ।
महान्यायाधिवक्ता पोखरेलले मुद्दा नचलाउने निर्णय गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न सक्ने बाटो खुला छ । महान्यायाधिवक्ताले गरेको निर्णय त्रुटिपूर्ण रहेछ भने मुद्दा चल्न सक्ने कानुनी व्यवस्था छ ।
यसअघि पनि महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परिसकेका उदाहरण छन् । त्यसमाथि सर्वोच्चले पनि महान्यायाधिवक्ताको निर्णय गलत लागे रिटबमोजिम सर्वोच्च अदालतमा जान सक्ने व्याख्या गरिसकेको छ ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्