लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन बहुमत उन्मुख « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन बहुमत उन्मुख


156
Shares

काठमाडाैं । केन्द्रमा बहुमत पुर्याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ।

लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिट मध्ये हालसम्म नेकपा एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भएपनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एकल रूपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् । प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली कांग्रेसले भागबण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ । कांग्रेसले बलियो आधार मानेका र यसअघि पटकपटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कँडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाँणले फराकिलो मतान्तरले पराजय भोग्नुपर्यो ।

गठबन्धनमा ७ क्षेत्र पाएको माओवादीले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन । कपिलवस्तु १ मा माओवादी सचिव चक्रपाणी खनाल, बाँके १ मा संघीय मन्त्री महेश्वरजंग गहतराज, बर्दिया २ मा सुरेश पन्त यसअघि सोही पार्टीले जितेका क्षेत्रमा पराजित भएका छन् भने माओवादी कोटामै टिकट पाएका नेता घनश्याम भुसाल रुपन्देही १ मा फराकिलो मतान्तरले पराजित हुनुभएकाे छ । माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठूलो उपलब्धी बनेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले भाग बण्डमा पाएको ४ सिट मध्ये १ मा उम्मेदारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सिटमा मात्रै विजयी भएको छ । पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन् । तर दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी हुनुभयो । गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एकएक सिट गुमाएर रित्तै भएको छ । प्युठानमा दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागबण्डामा उम्मेदवार बनाएपनि जित्न सकेनन् ।

अहिलेसम्म सार्वजनिक भएका मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमाले भन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ । प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ । सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका ३ वटा दलले त्यो थ्रेस होल्ड पार गरिसकेका छन् ।