नेपालले जित्यो यूएईविरुद्धको क्रिकेट सिरिज « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


नेपालले जित्यो यूएईविरुद्धको क्रिकेट सिरिज


1.014k
Shares

काठमाडौं । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले युएईसँगको तीन एकदिवसीय सिरिज जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा भएको अन्तिम तथा तेस्रो खेलमा नेपालले पाहुना टोली युएइलाई ६ विकेटले हराउँदै श्रृंखला २–१ ले पक्षमा पारेको हो ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर श्रृंखलाको उपाधि घरमै राखेको हो । यसै प्रतियोगिताबाट कप्तानको जिम्मेवारी पाएका रोहित पौडेलले डेब्यू प्रतियोगितामा नै उपाधि नेपाली टोलीलाई दिलाउन सफल पनि भएका छन् ।

नेपालको जितमा आकर्षक ब्याटिङ गरेका आसिफ शेख १ सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनमा आउट भएका थिए । आसिफ र ज्ञानेन्द्रले करियरकै पाँचौं अर्धशतकसमेत पूरा गरेका छन् । ज्ञानेन्द्रले एक दिवसीय करियरको उच्च प्रदर्शनसमेत गरेका छन् । ज्ञानेन्द्रले दुई वर्षअघि ओमानबिरुद्ध टियु मैदानमै ५६ रनको इनिङ खेलेका थिए । जुन ओडिआईमा उच्च प्रदर्शन रहँदै आएको थियो ।

दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय २२ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गर्दा नेपालले एक दिवसीय क्रिकेटमा भएको दोस्रो ठूलो साझेदारी हो । यसअघि गतवर्ष पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि देव खनाल र दीपेन्द्रसिंह ऐरीले १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए ।

आसिफलाई साथ दिएका ज्ञानेन्द्र ३४ औं ओभरको पहिलो बलमा एलबीडब्लूको धरापमा पर्दा कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १० रनमा रन आउट भएका थिए । यस्तै, दीपेन्द्र सिंह ऐरी शुन्यमा पवेलियन फर्किंदा ओपनर अर्जुन साउद ९ रन बटुल्ने क्रममा क्याच हुँदै मैदान बाहिरिएका थिए । युएईका हजरत बिलाल र आयन अफजल खानले १/१ विकेट लिए भने नेपालका दुई खेलाडी रनआउट हुन पुगेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । ३१.१ ओभरमा ९३÷९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले ८३ रनको साझेदारी गर्दा निर्धारित ५० ओभरमा युएईले १ सय ७६ रनको योगफल बनाएको थियो । युएई यु–१९ का कप्तानसमेत रहेका आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनको पारी खेलेका थिए ।

उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक पनि बनाउन सफल भए । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहँदा एलिशान शराफुले ६९ बलमा ४ चौकासहित ३३ रन बनाए । ओपनर मोहम्मद वासिमले ११ रन जोड्दा रोहन मुस्ताफाले २४ रनको व्यक्तिगत स्कोर बनाएका थिए । यस बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । यूएईको इनिङलाई सस्तैमा समेट्ने क्रममा नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २÷२ विकेट निकाल्दा सोमपाल कामी र ललित राजवंशीको नाममा १/१ विकेट रह्यो ।

यस जितसँगै विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोर्णात्मक श्रृंखलाको तयारीको रुपमा हेरिएको श्रृंखलाबाट नेपाली टोलीलाई मनोबल मिलेको छ । नवनियुक्त कप्तान रोहितकुमार पौडेललाई पनि सुखद् अनुभव मिलेको छ ।