Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


इलाममा बिङ्गो खेलले चाडपर्वमा मनोरञ्जन गराउँदै

वर्षौदेखि छुट्टिएका साथी बिङ्गोमै भेटिन्छन्

2.3k
Shares

इलाम । नेपालीहरुकाे महानपर्व दशैं सकिएकाे छ । दशैं सकिएसँगै अर्काे दोस्रो पर्व तिहार घर आँगनमा नै आइसकेको छ ।

पहिले जस्तो दशैं र तिहारमा कुनै रौंनक नै देखिएकाे छैन् । तर इलाममा भने बिङ्गो खेलले वर्षेनी चाडबाडमा मनोरञ्जन गराउँदै आएको छ । बिङ्गो दशैंको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाईने गरिएको छ । त्यसबाट संकलन भएको रकम सामाजिक काममा लगाउने गरिएको छ ।

दशैं र तिहार कर्मथलो छाडेर जन्मथलो फर्कने एउटा मुख्य पर्व हो । जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैं तिहारको बेला जन्मथलो फर्कने गर्दछन् । तर, लामो समयपछि जन्मथलो फर्कनेहरुले समेत पहिलेको जस्तो दशैंकाे रौंनक नपाउने गरेको गुनासो गर्न थालेका छन् । तर इलाममा भित्रनेहरु भने जन्मथलो फर्कने बित्तीकै हरेक साँझ खेलीने बिङ्गो खेलमा सहभागी भएर मनोरञ्जन लिने गरेका छन् ।

इलामका मात्रै होइन बिहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्दछन् । जस्ले गर्दा साझको यो रौंनकले इलाम धपक्कै बेल्ने मात्र गरेको छैन् । यो खेल इलामको पहिचानको रुपमा समेत स्थापित भएको छ । सदरमुकाममा खेलाइने बिङ्गो आफन्त र साथीभाईसँग राम्रो भेटघाटको थलो पनि हुने गरेको छ ।

अन्यत्र भने चाडबाडको समयमा व्यावसायिक रुपमै यो खेल खेलाइने गरिन्छ । तर, इलाममा भने भरपुर मनोरञ्जनका साथै सामाजिक काममा खर्च जुटाउने उद्देश्यले खेलाइने गरिन्छ । वर्षैपिच्छे विभिन्न सामाजिक संघसंस्थाले बिङ्गो खेलको आयोजना गर्दै आएका छन् । झण्डै ६० वर्ष अगाडि इलामका तत्कालिन बडाहाकिम प्रकाशचन्द्र मुखियाले इलाममा बिङ्गो खेल भित्र्याएको बुढापाकाहरुको भनाइ छ ।

बिङ्गोबाट यस अघि संकलित रकमबाट इलामको ठूलो टुँडिखेल मर्मत, ब्लड बैंक भवन निर्माण, नेपाल पत्रकार महासंघ इलामको भवन निर्माण, इलाम चोकबजारमा रहेको पिपिटावर निर्माण गरिएको इलामका बिङ्गो खेल संचालक सुदिप श्रेष्ठले बताउनुभयो ।

इलाममा बिङ्गो खेल्नकै लागि चाडबाडको मौका छोपेर तराईबाट पहाड उक्लनेहरु समेत छन् । दिनभरी पेशा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएकाहरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको छ । वर्षौदेखि छुट्टिएका साथीहरू बिङ्गोमा नै भेटिन्छन् ।

यसैले पनि साथीहरूसँग रमाइलो गर्दै बिङ्गो खेल्न पाइने भएपछि साँझ पर्ने वित्तिकै इलाम बजारमा चहल-पहल सुरु हुने गर्दछ ।