
स्याङ्जा । स्याङ्जाको वालिङमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद महिला फुटबल सम्पूर्ण तयारी पुरा भएको छ।
यही असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङ्जाको वालिङमा महिला फुटबल प्रतियोगिता हुँदैछ ।
वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर गुरुङ (मोहन)ले जानकारी गराउनु भएको छ ।
आयोजक राष्ट्रिय खेलकुद परिषदका अनुसार समय अपुग हुने भएकाले प्रतियोगिताको औपचारिक उद्घाटन २८ गते गरिने भएपनि यस अन्तर्गतको महिला क्रिकेट पोखरामा सञ्चालन भइसकेको छ । यसैगरी महिला फुटबल पनि एकदिन अघि असोज २७ बिहीबारदेखि सञ्चालन हुने भएको छ ।
बिहीबारबाट प्रतियोगिता सुरु हुने भएपछि २६ गते बुधबारसम्ममा सबै खेलाडीहरु वालिङ आईसक्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवासको व्यवस्थापन मिलाइएको छ ।
वालिङमा रहेको खेलमैदानलाई जिल्ला समन्वय समितिको पहलमा वालिङ नगरपालिकासहित जिल्लाका एघार वटै पालिकाहरूको सहयोगमा दुबो लगाइएको छ । प्रतियोगिताका लागि अहिले खेलमैदान व्यवस्थित गर्ने, तारबार गर्ने, झण्डाहरू राख्ने लगायतका काम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्