
काठमाडौं । नेपाली कला, साहित्य, संस्कृति र संस्कारलाई संरक्षण गर्ने उदेश्यले प्रतिभा नक्षत्रको दोस्रो संस्करण लण्डनमा भब्य रुपमा सम्पन्न भएको छ ।
प्रतियोगितामा बाल समूहतर्फ ५ वर्षीया श्रीद्धिका थापा क्षेत्री बाल नक्षत्र बनिन । युवा समुहबाट सब्रिना चोङवाङ युवा नक्षत्र बनिन् ।
बाल समुहमा सास्रिक कार्की रनर अप र रिया गिरी दोस्रो रनर अप बन्न सफल भए । युवातर्फ सुभेच्छा भारती मगर दोस्रो र रितिका श्रेष्ठले तेस्रो स्थान प्राप्त गरे ।
प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा भएको कार्यक्रममा बाल तथा युवाका छुट्टाछुट्टै विधामा विजेताहरुलाई पुरस्कृत गरियो ।
युवा नक्षेत्रका रुपमा विजेताले ५ सय तथा दोस्रो र तेस्रो हुनेले ३ सय र २ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
बाल समुहका विजेताहरु क्रमशः ३ सय, २ सय र १ सय पाउण्ड नगद सहित ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भए ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनसहित पुरस्कारको आर्थिक व्यवस्थापन गर्ने बुद्ध फाउण्डेसन अध्यक्ष दिपक श्रेष्ठ, व्यवसायी दिपक थापा, संगीता भारती मगर, अनु श्रेष्ठ, जमघट परिवारका तीर्थबहादुर थापा लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा भाग लिन लण्डन, स्कटल्याण्ड लगायतका क्षेत्रबाट बाल समुहमा १६ र युवामा १० प्रतियोगी सहभागी थिए ।
कार्यक्रममा एनआरएन यूकेका तर्फबाट ९ सय पाउण्डको सहयोग चेक अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष ललितकुमार न्यौपाने, उपमहासचिव विनय अधिकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ र जित रानाभाटले प्रतिभा नक्षत्रलाई एकसाथ हस्तान्तरण गरे ।
प्रतियोगीहरुले पहिलो चरणमा नेपाली गीत, नृत्य, कविता वाचन लगायतका आ–आफ्ना प्रतिभाहरु देखाएका थिए ।
दोस्रो चरणमा नेपालसंग सम्बन्धित विभिन्न विषयमा निर्णायकहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।
प्रतियोगितामा गायिका मिरा राणा, निर्देशक सनमकुमार बैराग, साहित्यकार बासु शर्मा, नृत्य निर्देशक प्रभु गुरुङ र एभरेष्ट सुर्य बोहोरा निर्णायकको भुमिकामा थिए ।
प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशबहादुर आलेले स्वागत मन्तव्य दिए ।
प्रतियोगिताको लक्ष्य उदेश्य र यसबाट नेपाली मौलिकतामा हुने फाइदाका बारेमा प्रतिभा नक्षेत्रका संरक्षक मनिषकुमार श्रेष्ठ र परिकल्पनाकार राजेन्द्र खसले प्रष्ट पारेका थिए ।
कार्यक्रमको सहजिकरणमा महासचिव लक्ष्मण गुरुङ, सुस्मिता थापाले गरे भने अध्यक्ष सिम्मी पुनले कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहयोगको अपेक्षा रहेको बताइन । (तस्विरहरुः शिव भण्डारी र भरुपलको फेसबुकबाट)
प्रतिक्रिया दिनुहोस्