११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


डोटीमा गठबन्धन नगर्ने भए कुनै पनि जिल्लामा गठबन्धन हुँदैन : प्रेम आले


15.574k
Shares

काठमाडाैँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधिसभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गठबन्धन गर्न नहुने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु नहुने बताउनु भयो । उहाँले गठबन्धन गर्ने भए पनि ७७ वटै जिल्लामा हुनुपर्ने बताउनु भयो ।

नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरुले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली काँग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताउनु भयो ।

गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उहाँको भनाइ छ । उहाँले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो जिल्लामा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरु गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन । ७७ जिल्लामै गठबन्धन हुनु भएन । यदि गठबन्धन गर्ने हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

उहाँले मैले हिजो संसदीय दलको बैठकमा पनि पार्टी अध्यक्षज्यूलाई पनि यसबारे जानकारी दिएको बताउनु भयाे ।

उहाँले भन्नु भयाे,’आज समाजवादी भर्खरै विद्रोहबाट जन्मिएको पार्टी, जनताको बीचमा नपुगेको पार्टी, स्थानीय तहको निर्वाचनमा कलम चिन्हको राम्रो प्रचार–प्रसार नभएको पार्टी, डोटीमा ९ वटा स्थानीय तहमा हाम्रो एकीकृत समाजवादीले जम्मा १० वटा वडामा मात्रै हाम्रो उम्मेदवारी भयो । ५५ वटा वडामा हामीले त्यत्तिकै छोडिदियौँ । त्यही १० वडाको भोट गनेर नेपाली काँग्रेसले समाजवादीको त ३ हजार भोट छ, समाजवादीको ३५ सय भोट छ भन्यो । भोटको कुरा हुन्छ ? स्थानीय निर्वाचन हुनुभन्दा अगाडी काठमाडौंको मेयर बालेनको मत कति थियो ? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो । उहाँको मत कति थियो ? उहाँको कुनै मत नै थिएन । त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले विद्रोहको प्रयास गरिराखेका छन् । यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ ।’

उहाँले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताउनु भयो । नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताउनु भयो । उहाँले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।