
भक्तपुर, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ ।
मध्यपुरथिमि नगरपालिका–४, कमेरोटारको खुला ठाउँमा शनिबार दुई सडकमानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरे ।
राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ ।
एल्बममा प्रधानमन्त्री ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिँदैन प्रवास’लाई गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् ।
त्यस्तै, पौडेलले रचना गरेको ‘हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यौ सुखी खुसी जनता नाँचेको’ गीतमा बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन् ।
रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौ तिमीले’मा भने राजेशपायल राईले आवाज दिएका छन् ।
त्यस्तै, विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’मा बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन् ।
किरण क्रियसनले बजार व्यवस्थापन गरेको गीतिसंग्रहमा आमोश तामाङको संगीत संयोजन रहको छ भने एल्बमका सबै गीतमा प्राज्ञ शान्तिराम राईले संगीत दिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन लिएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसंग्रह तयार पारिएको संयोजक पौडेलले जानकारी दिए ।
कार्यक्रममा यहाँ रहेका ७० जनाभन्दा बढी सडकमानवलाई खाना खुवाइएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्