२० कार्तिक २०८१, मंगलबार | Wed Nov 6 2024


पल शाहको मुद्दामा असोज २ गते सुनुवाइ हुने


3.302k
Shares

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ ।

यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो ।

तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिनुभयो । शाहविरुद्ध नवलपुर अदालतले मंगलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै रु. २५ हजार जरिवाना र रु. १० लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताउनुभयो ।

जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ । शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।