८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


शेयर बजार फेरि ओरालो


182
Shares

काठमाडौं । गत बिहीबार दोहोरो अंकले सुधारिएको शेयर बजार आज पुनः ओरालो लागेको छ ।

उतारचढावबीच बजार परिसूचक नेप्से ७ अंकले घटेर २ हजार ६० कायम भएर थामियो । सुरुवाती समयमा बजार सुधारिएर नेप्से २ हजार ८७ अंक बराबर पुगेपनि नेप्सेले बृद्धि कायम गर्न सकेन । कारोबार भने २ अर्ब हाराहारी नै रह्यो ।

होटल तथा पर्यटन, उत्पादनमूलक, निर्जीबन बीमा र वाणिज्य बैंक गरी ४ वटा उपसमूह सकारात्मक रहे पनि अरु समूह ओरालो लागे । होटल तथा पर्यटन र उत्पादनमूलक समूह दोहोरो अंकले बढेका हुन् । घटेका मध्ये व्यापार समूहमा सबैभन्दा उच्च ४१ अंकले गिरावट आउँदा अरु बढीजसो समूह सामान्य दोहोरो अंकले ऋणात्मक रहेका हुन् ।

नेपाल स्टक एक्सचेन्जमा २ सय १८ कम्पनीको करिब ५३ लाख कित्ता शेयर २ अर्ब ५ करोड रुपैया बराबरमा खरिदबिक्री भएको एक्सचेन्जले जनाएकोछ । १ सय ३२ कम्पनीको शेयरमूल्य घट्दा ४७ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

कारोबारमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतले घटेकोछ ।

यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंक र एन आइसि एसिया सेलेक्ट फण्डको ४ प्रतिशतले गिरावट आएको छ । कारोबार रकमको आधारमा रिद्धी हाइड्रोपावरको सबैभन्दा बढी १२ करोड माथिको कारोबार भएको पनि नेप्सेले जनाएको छ ।