Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


खेल मिलेमतो गरे तीन वर्ष कैद


0
Shares

कुमार चौलागाइँ (रासस)

काठमाडौं, भदौ २ । नेपाली खेलाडीले अब आइन्दा खेल मिलेमतो गरे तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने भएको छ ।

जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै शुक्रबारदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १ राज्यविरुद्धको कसुरअन्तर्गत् दफा ५१ (३) मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने बुँदामा नेपाली खेलाडीले राष्ट्रका लागि खेल्दा खेल मिलेमतो गरे तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, खेल मिलेमतो गराउन आदेश वा निर्देशन दिने व्यक्तिलाईसमेत मुख्य कसुरदारसरह सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।

यसैगरी, सार्वजनिक पद धारण गरेको खेलाडीले विदेशमा गएका बखत खेल मिलेमतो गरेमा उसलाई थप तीन वर्ष कैद हुनेछ ।

संहितामा भनिएको छ–‘नेपाली खेलाडीको नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा कुनै खेलाडीसँग खेल्दा मिलोमतो गर्ने, प्रलोभनमा पर्ने बाजी जिताउने र हराउनेलगायत कार्य गरेमा राष्ट्रिय हितविरुद्धको कसुर ठानिनेछ ।’

संहितामा भनिएको छ–‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हितविरुद्धको कसुर भएको मानिनेछ ।’

त्यसैगरी, संहितामा कसैले खेल मिलेमतो गर्दा कुनै रकम लेनदेन गरेको भएमा उपदफा ४ बमोजिमका सजायको अतिरिक्त लेनदेन गरेको रकमसमेत जफत हुने उल्लेख छ ।