के-के हुन् क्रिकेटका नयाँ प्रशिक्षक प्रभाकरका चुनौति ? « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


के-के हुन् क्रिकेटका नयाँ प्रशिक्षक प्रभाकरका चुनौति ?


312
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । योसँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने पनि निश्चित भइसेकेको छ ।

पूर्व प्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुई वटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौति भने धेरै छन् ।

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर, नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतिको सामना गर्न उनलाई त्यति सहज भने हुनेछैन । किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आएका छन् ।

साथै उनले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दैछन् । नेपाली क्रिकेटमा सुधारका लागि प्रशिक्षक मनोजका चुनौतिहरू के–के हुन् त ? पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन ।

चार खेलमध्ये एक खेलमा मात्र सुखद् नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारणहरू केलाउन थालिएको छ । मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरी सतहमा देखिन थालेका छन् ।

यससँगै एक दिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ । क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिनुभयो । उहाँले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाई प्राप्त गर्ने विश्वास राख्नुभयो ।

प्रशिक्षक मनोज प्रभाकर शनिवारसाँझ नेपाल आउँदै हुनुहुन्छ । नेपाली टोली सम्हाल्न आउन लाग्नुभएका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौति धेरै छन् । मनोजलाई सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्ने पहिलो चुनौति छ ।

प्रभाकर क्रिकेटका लागि कुनै पनि कन्जुस्याँई नहुने अब्बल देश भारतका खेलाडी हुन् । जहाँ पूर्वाधारको कुनै कमी थिएन । तर, उनलाई नेपालमा भएको सीमित साधानको अधिकतम प्रयोग गर्दै विश्व स्तरमा प्रतिस्पर्धा गर्न योग्य टोली बनाउने चुनौति हुनेछ ।

अहिले टोलीमा नयाँ युवा खेलाडीको वचश्र्व रहेको छ । टोलीमा अनुभवी खेलाडीहरू प्रायः शून्य छन् । यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकलले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताउनुभयो ।

पाठकले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ ।

नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसियटका शीर्ष टोलीका रूपमा लिइन्छ । तर, लगानी र संरचनाको हिसावमा नेपाल र ती देशको आकाश पातालको फरक छ ।

तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोली भित्रको गुट÷उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ ।

मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमा नलाग्ने गरेको होइन । वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परगत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङ केन्द्रित प्रशिक्षण निकै नै आवश्यक रहेको बताउनुभयो ।

टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एक जुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार निरञ्जन राजवंशीले बताउनुभयो ।

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु पनि रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकारको जिम्मा हुनेछ ।

विश्वकप क्रिकेट लिग–२ को शीर्ष ३ मा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी–२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।